पोखरा, १५ माघ २०८२।
माघे संक्रान्तिका दिन इनारमा भेटिएको युवतीको शबको सनाखत हुँदा साथ् प्रहरीले उनका प्रेमीलाई पक्राउ गरेको छ।
गएको माघे संक्रान्तिका दिन बाँकेको डुडुवा गाउँपालिका–३, बनकट्टीस्थित एक प्रयोगविहीन इनारमा भेटिएको युवतीको शबको सनाखत हुँदा साथ् प्रहरीले उनका प्रेमीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार , स्थानीय रामफेरन कुर्मीको घरपछाडि वर्षौंदेखि प्रयोगमा नरहेको इनारभित्र सडि गलेको अवस्थामा भेटिएको उक्त शब डुडुवा गाउँपालिका–३ बनकट्टी निवासी २१ वर्षीया बसन्ती गोडिया भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। उनका परिवारजनले उनी केही समयदेखि भारतको नानापारास्थित मामा घर गएको भन्ने ठान्दै आएका थिए। तर अनुसन्धानका क्रममा मामा रामजेश गोडियासँग सम्पर्क गर्दा उनी त्यहाँ नगएको खुलेपछि उनी हराएको परिवारजनले पत्तो पाएका थिए।
गएको पुष १ गतेदेखि उनले चलाउदै आएको मोबाइल निष्क्रिय रहेको देखिए पछि प्रहरीले बसन्ती गोडिया सोही दिनदेखि बेपत्ता भएको अनुमान गरेको छ। त्यसैबिच गएको माघ १ गते बिहान करिब १०:२४ बजे बनकट्टी स्थित रामफेरन कुर्मीको घर पछाडि वर्षौंदेखि प्रयोगमा नरहेको इनारभित्र सडिगली सकेको अवस्थामा उक्त शब् फेला परेको बताइएको छ।
प्रहरीले उक्त शबको सनाखत गराउन गरेको प्रयासका क्रममा शवले लगाएको कपडा र गहनाका आधारमा मृतकका परिवारजनले उक्त शब औपचारिक रुपमा आफ्नो छोरी बसन्ती गोडियाको भएको भनेर सनाखत गरि दिएको बताइएको छ।
उक्त शब बसन्ती गोडियाको भएको खुल्नासाथ प्रहरीले उनका प्रेमी डुडुवा गाउँपालिका–३, बनकट्टी बस्ने २५ वर्षका राकेश बर्मालाई पक्राउ गरेर आबश्यक अनुसन्धान शुरु गरिसकेको प्राप्त समाचारमा जनाइएको छ।
उनले प्रेम सम्बन्धमा खटपट भएपछि योजनाबद्ध रूपमा हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा मिति २०८२ माघ ११ गते पक्राउ गरी माघ १२ गते बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको जनाएको छ।