पोखरा, १४ माघ २०८२।
मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशका अधिकांश भूभागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा भारी हिमपातको चेतावनी दिइएको छ। पोखरामा रातिदेखि हल्का पानी परेको छ ।
पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा पूर्णतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराईका भूभागमा साधारणतया बादल लाग्नेछ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भूभागमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, बागमती, मधेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान र कोशीको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।