ओखलढुंगामा चन्द्रविक्रम राई दम्पत्ति हत्या प्रकरण : शंकाष्पद दुई जना पक्राउ, तालिमप्राप्त कुकुर परिचालन

ओखलढुंगामा चन्द्रविक्रम राई दम्पत्ति हत्या प्रकरण : शंकाष्पद दुई जना पक्राउ, तालिमप्राप्त कुकुर परिचालन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ माघ २०८२
  • 4.8K
    Shares

पोखरा, १४ माघ २०८२।

ओखलढुंगाको चिसंखुगढी गाउपालिका–६ भदौरेस्थित बोहोरेमा चन्द्रविक्रम राई दम्पत्तिको हत्या गरेको आरोपमा प्रहरीले शंकश्पद दुई जनालाई पक्राउ गरेको छ।

मङ्गलबार बिहान आफ्नै घरमा मृत भेटिएका ८० वर्षीय चन्द्रबिक्रम र उनको श्रीमती चन्द्रमाया राईको हत्या गरेको आरोपमा शंकश्पद दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार , घरभित्र कोठामा हत्या गरेर सिरकले छोपेको अवस्थामा राई दम्पतीको शव फेला परेको हो । अनुसन्धानका लागी तालिम प्राप्त कुकुर पठाइएको छ । धरानबाट तालिम प्राप्त कुकुर घटनास्थलमा पठाइएको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले जानकारी दिए।  

हत्या गरेर आरोपीहरूले घरमा भएको धनमाल लुटेको आँकलन गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताए । प्रजिअ मग्रातीले ‘लुटपाटको लागी हत्या गरेको आशंका गरिएको बताउदै यस बारेमा अनुसन्धान भैरहेको उल्लेख गरे।

ओलखढुंगामा यसअघि लगातार दुईवटा हत्याको घटना भएको थियो । २०८२ असोज २६ मा सिद्धिचरण नगरपालिका–४ स्थित चार्खुमा ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की)को हत्या भएको थियो । बञ्चरोले कञ्चटमा प्रहार गरेर एकल महिला रत्न कुमारीको हत्या गरेर आरोपीहरूले नगद र सुनका गहना लुटपाट गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान निष्कर्ष छ ।

मङ्गलबार राई दम्पतीको हत्या भएको गाउँमा पुस १५ मा अर्को हत्याको घटना भएको थियो । त्यसबेला भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्ने ६० वर्षीय शोभितमान थापा मगर र उनकी पत्नी ६० वर्षीया रत्नमाया थापा मगरको हत्या भएको थियो । हत्यापछि आरोपीहरूले १ लाख नगद, २ तोला सुनका गहना र ६ तोला काँचो सुन लुटेर भागेको अनुसन्धानबाट थाहा भएको छ ।

पुराना दुईवटा घटनामा संलग्न ४ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएका अनुसन्धान अधिकृतहरुले पक्राउ गरेका थिए । पक्राउ पर्नेमा चिसंखुगढी गाउँपालिका–३ दियाले घर भएका २८ वर्षीय मिलन भन्ने संगम राई, वडा नम्बर–४ रातमाटे घर भएका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर–८ माम्खा बस्ने ३० वर्षीय अशोक भुजेल उर्फ ‘दोर्जे’ छन् । उनीहरू घटना भएको ५ दिनपछि पक्राउ परेका थिए ।

असोज र पुसमा भएको दुईवटा हत्यामा पक्राउ परेका चारैजना संलग्न देखिएका छन् । दुईवटा घटनामा चारजनाको संलग्नता पुष्टि भएको ओखलढुंगाका डीएसपी मदन केसीले रातोपाटीलाई बताए ।

ओलखढुंगामा भएका दुईवटा श्रृङखलाबद्ध हत्यामा संलग्नहरूले लुटपाट गरेर भागेको भेटिएको छ । रत्नकुमारी कटुवालको हत्या गरेर सुनका गहना र नगद लुटेको भेटिएको छ । किराना पसले दम्पतीको हत्यापछि पनि चारजना आरोपीले सुन र नगद लुटेका हुन् ।

पछिल्लो घटना पनि लुटपाटको लागि भएको आँकलन गरिएको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले बताए । उनले भने, ‘आज भएको हत्या पनि लुटपाट गर्ने उद्देश्यले भएको हुनसक्छ, हाम्रो टोलीले त्यसबारे अनुसन्धान गर्दै छ ।’

यसअघि पक्राउ परेकाहरूको साथबाट प्रहरीले भरुवा बन्दुक, खुकुरी र बञ्चरो बरामद गरेको थियो । सो समूहले तेस्रो हत्याको पनि योजना बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । बोहोरेमा चन्द्रविक्रम राई र चन्द्रमाया राईको हत्यामा पुराना दुईवटा हत्याराको ‘कनेक्सन’बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया