रेसिडेन्स कार्ड प्रतीक्षारत स्याङ्जाका युवाको पोल्याण्डमा निधन

रेसिडेन्स कार्ड प्रतीक्षारत स्याङ्जाका युवाको पोल्याण्डमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०८२
  • 4.4K
    Shares

पोखरा, १३ माघ २०८२।

पोल्यान्डको रेसिडेन्स कार्ड आउने प्रतीक्षामा रहेका स्याङ्जाक एक युवाको पोल्याण्डमा निधन भएको छ।

पोल्यान्डको रेसिडेन्स कार्डका लागि गत डिसेम्बर १ तारिख फिङ्गर प्रिन्ट दिएका स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १, जिमाल्थरका ३६ वर्षीय यामबहादुर आलेको पोल्याण्डमा सुतेकै अवस्थामा मृत्यु भएको हो।

आले रोजगारीको सिलसिलामा नेपालबाट रोमानिया आएका याम २३ महिना त्यहाँ बसेर सुन्दर भविष्य खोज्दै पोल्यान्ड आएका थिए। पोल्यान्डको राजधानी वारसाबाट ९८ किलोमिटरको दूरीमा रहेको स्याड्याचा सहरस्थित ड्रोसेड कम्पनीमा एजेन्सीमार्फत उनी मासु प्रशोधन तथा उत्पादन गर्ने कम्पनीमा काम गर्थे।

शारीरिक रूपमा स्वस्थ रहेका याम सोमबार राति खाना खाएर सुतेका बेला अचानक छटपटिएर खाटबाट भुइँमा खसेकोमा मृत्यु भएको यामसँग सँगै काम गर्ने र एउटै कोठामा बस्दै आएका सिन्धुपाल्चोक चुगाल-३ का लावाङरेन्जी लामाले जानकारी दिए।

संगै खाना खाएर राती १२ बजे संगै सुतेका आले एकै छिनमा खाटबाट तल झरे पछि अस्पताल लैजान एम्बुलेन्स बोलाईएकोमा डाक्टरले मृत्यु भइसकेको बताए। उनको मृत्युको कारण भने नखुलाइएको लामाले बताए।

रोमानियाको एक ढुङ्गा खानीमा २ वर्ष सँगै काम गरेका लावाङरेन्जी र याम २०२५ मे २४ मा पोल्यान्ड आएर सँगै काम गर्दै थिए।

पोल्यान्डसमेत कार्यक्षेत्र रहेको जर्मनीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागर प्रसाद फुयालले आलेको मृत्यु बारे पुष्टि गर्दै रोजगारदाता कम्पनीसँग समन्वय गरी शव नेपाल फर्काउन तत्काल आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

पोल्यान्डमै जनवरी-१० मा झापाका गोपालबहादुर लिम्बू शेर्मा र जनवरी-१६ मा कास्कीका सुमन गुरुङको मृत्यु भएको थियो। गोपालको शव गत आइतबार परिवारले नेपालमा बुझेका छन् भने सुमनको शव नेपाल पठाउने अन्तिम तयारी भइरहँदा डेढ हप्ताको बीचमा थप एक नेपालीको मृत्यु भएको छ।

प्रतिक्रिया