त्रिशुलीनदी किनारमा पुरिएको गणपति डिलक्स बसमा भेटियो मानव कङ्काल

त्रिशुलीनदी किनारमा पुरिएको गणपति डिलक्स बसमा भेटियो मानव कङ्काल


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०८२
  • 2.9K
    Shares

पोखरा, १३ माघ २०८२।

त्रिशुली नदीमा पुरिएको अवस्थामा भेटिएको गणपति बसभित्र फेला परेको मानव कंकाल

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसमा मानव कङ्काल भेटिएको छ ।

डेढ वर्षअघि सिमलतालमा पहिरोसँगै बेपत्ता भएको उक्त बस उत्खनन गर्ने क्रममा एक जनाको कङ्काल फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

प्रहरी निरिक्षक सुबेदीका अनुसार, बसको करिब ४० प्रतिशत भाग काटेर बाहिर निकाल्ने क्रममा कम्मरभन्दा माथिको भाग मात्र भएको मानव कङ्काल फेला परेको हो । फेला परेको कङ्काल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ ।

सिमलताल दुर्घटनास्थलभन्दा करिब ३०० मिटर तल त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा १६ दिनअघि उक्त बसका पाटपुर्जा देखिएपछि खोजीकार्य तीव्र पारिएको थियो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएको संयुक्त सुरक्षा टोलीले उक्त बस फेला पारेको थियो ।

विसं २०८१ असार २८ गते बिहानपख काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको झोलुङ्गे पुल नजिकैबाट लेदोसहितको पहिरोमा परी त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

दुवै बसका ६५ यात्रुमध्ये गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अन्य सबै बससँगै बगेका थिए ।

प्रतिक्रिया