पोखरा, १३ माघ २०८२।
चोरी गरेर जापानबाट नेपाल फर्कदै गरेका एक नेपाली युवा एयरपोर्टमै समातिएका छन्।
जापानको फुकुओका अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ वर्षीय एक नेपाली युवालाई चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका युवाको नाम खुलाइएको छैन।
प्रहरीले उनीविरुद्ध आफूले पहिले काम गरेको एक सुबिधासम्पन्न स्टोरमा अनधिकृत रूपमा प्रवेश गरी ३२ हजार पांच सय येन चोरी गरेको आरोप लगाएको छ।
गत डिसेम्बर १४ तारिखको बिहान पसलको सेफबाट पैसा हराएको भन्दै प्रहरीमा उजुरी परेकोमा प्रहरीले प्राप्त सीसीटीभी फुटेजको आधारमा अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेका ती युवा उनी सोही पसलका पूर्व कर्मचारी भएको र हालै भाषा विद्यालयसमेत छोडेर बेरोजगार बसेको खुलेको छ।
नेपाल फर्कनका लागि सोमबार फुकुओका अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला प्रहरीले उनलाई घेरा हालेर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ती युवकले आफ्नो अपराध स्वीकार गर्दै आर्थिक अभाव र दैनिक गुजाराका लागि पैसा चोरी गरेको बयान दिएका छन्।