गण्डकीमा जनप्रतिनिधिकै मत बदर र ‘नो भोट’ : सांसद देवकोटाले खाली छोडे मतपत्र

गण्डकीमा जनप्रतिनिधिकै मत बदर र ‘नो भोट’ : सांसद देवकोटाले खाली छोडे मतपत्र


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ माघ २०८२
  • 3.1K
    Shares

पोखरा , ११ माघ २०८२।

गण्डकी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा नीति निर्माणको तहमा रहेका जनप्रतिनिधिहरूले नै मत हाल्न नजान्दा र ‘नो भोट’ को नीति लिँदा आधा दर्जन बढी मत बदर भएका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का सांसद फणीन्द्र देवकोटाले मतपत्र नै खाली छोडेर कसैलाई पनि समर्थन नरहेको संकेत गरे। त्यसैगरी अन्य केही सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखले चुनाव चिह्नको सट्टा उम्मेदवार वा दलको नाममा छाप लगाउँदा र दुईवटा चिह्नमा मत दिँदा परिणाम प्रभावित भएको छ। दुई सय २८ मतदाता रहेको गण्डकीमा दुई सय २३ जनाले मात्र मतदान गरेका थिए।

सांसद फणीन्द्र देवकोटाले आफ्नो राजनीतिक पहिचान प्रस्ट पार्न र उम्मेदवारहरूप्रति असहमति जनाउन मतपत्र खाली छोडेको बताए। ‘कसैलाई पनि समर्थन छैन भन्ने संकेत हो, म अहिले पर्ख र हेरको अवस्थामा छु,’ देवकोटाले भने।

देबकोटाले मतपत्र खाली छोडे पनि अर्का एक सांसदले भने मतदानमा प्रक्रियागत त्रुटि गरेका छन्। ती सांसदले चुनाव चिह्नमा छाप लगाउनुपर्नेमा उम्मेदवारको नाममा छाप लगाएकाले मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। पालिकातर्फ पनि एक जना जनप्रतिनिधिले ‘तारा’ नाम लेखिएको ठाउँमा छाप लगाएका छन् भने अर्का एक जनाले ‘सूर्य’ र ‘तारा’ दुवैमा चिह्न लगाएर मत खेर फालेका छन्।

खुला समूहतर्फको मतदानमा समेत उस्तै किसिमको लापरबाही देखिएको छ। खुलातर्फ पनि १ वटा मतपत्र खाली भेटिएको छ भने अर्का १ जना सांसदले चुनाव चिह्नको सट्टा ‘रुख’ लेखिएको नाममा छाप लगाएका छन्। स्थानीय तहतर्फ पनि १ जना मतदाताले चिह्नमा नभई ‘तारा’ नाममा मत दिएका कारण उक्त मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। कानुन बनाउने तहमा पुगेका सांसद र स्थानीय सरकार चलाउने जनप्रतिनिधिहरूले नै सामान्य मतदान प्रक्रिया पालना नगर्नुलाई निर्वाचन अधिकारीहरूले उदेकलाग्दो रूपमा लिएका छन्। समाधान दैनिकबाट

प्रतिक्रिया