तनहुँ , ११ माघ २०८२।
तनहुँमा जिपले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ भने अर्का किशोर घाइते भएका छन्।
कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जिप तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडास्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा १३ वर्षीया बालिकाको मृत्यु भएको हो भने अर्का किशोर घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर स्थानीय १३ वर्षीया कोइस्का घर्तीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी घर्तीलाई बिहान ८:४० बजे दमौलीस्थित प्रदेश अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
सोही दुर्घटनामा परी स्थानीय १५ वर्षीय दिपसन घर्ती घाइते भएका छन्। उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सडकको खराब अवस्था वा तीव्र गतिका कारण उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले जिप चालक ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ। सांकेतिक चित्र