पोखरा , १० माघ २०८२।
सिरहाको मिर्चैयामा जलेको अवस्थामा एउटा नहिलाको बेवारिसे शव भेटिएको छ।
सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ स्थित तितृबोटबाट करिब १ किलोमिटर टाढा पर्ने टेना खोलामा एक महिलाको जलेको अवस्थामा शव भेटिएको हो ।
प्रहरीका अनुसार , स्थानीय बासिन्दाले खोलामा शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर शवलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार ती महिलाको हत्या गरी शव जलाएर खोलामा फ्याँकिएको आशंका गरिएको छ। हालसम्म मृतकको पहिचान खुल्न नसकेको र घटनाको कारण तथा दोषी पत्ता लगाउन थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ।
प्रहरीले स्थानीयसँग समेत सोधपुछ गरिरहेको र घटनाबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।