जिल्ला प्रहरी कार्यालय डडेल्धुराका ड्राइभर प्रहरी जवान नै पक्राउ

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका ड्राइभर प्रहरी जवान नै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० माघ २०८२
  • 3.8K
    Shares

पोखरा , १० माघ २०८२।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सवारी चालक (ड्राइभर) प्रहरी जवान पक्राउ परेका छन्।

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–३ घर भै हाल अमरगढी नगरपालिका वडा नम्बर ४ मा बस्दै आएकी सरिता गिरी (गिरी सानी) मृत भेटिए पछि उनको मृत्यु सम्बन्धमा अनुसन्धान गर्दै जाँदा प्रहरीले आफ्नै प्रहरी चालक यज्ञ साउदलाई पक्राउ गरेको हो।

विगत १५ वर्षदेखि श्रीमान् बैदेशिक रोजगारीमा रहेकी गिरीले आफू मर्नु अघि सामाजिक सञ्जाल फेसबुकमार्फत लामो सुसाइड नोट सार्वजनिक गरेकी थिइन्। उक्त नोटमा उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी जवान यज्ञ साउदको फोटो तथा भिडियोसमेत संलग्न गरेकी छन्।

सार्वजनिक भिडियोमा मृतक महिलाको ती प्रहरीसँग अनैतिक सम्बन्ध रहेको र लामो समयदेखि आफू मानसिक दबाबमा रहेको गिरीले उल्लेख गरेकी छन्।

सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै उनले लेखेकी छन्, ‘मलाई मर्न बाध्य बनाइस्, मरेर के गर्छस् गर भनिस्।’ उनले आफूसँग भएको पैसा र सुनसमेत ती प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्।

नोटमा लेखिएको छ, ‘मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस्। मैले दिएको १५ लाख रुपैयाँ मेरो छोरालाई दिनू। कसैले पढाइ देलान्। आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन, छोरा माफ गरिदिनु। तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनू।’

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी बरुणबहादुर सिंहका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीका चालक साउदलाई नियन्त्रणमा लिइएको छ। परिवारजन आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

प्रतिक्रिया