म्याग्दीस्थित माइतीमा बस्दै आएकी श्रीमतीको हत्या गरेर भागेका पोखराका युवा पोखराबाटै पक्राउ

म्याग्दीस्थित माइतीमा बस्दै आएकी श्रीमतीको हत्या गरेर भागेका पोखराका युवा पोखराबाटै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ माघ २०८२
  • 4.1K
    Shares

पोखरा, ८ माघ २०८२।

म्याग्दीमा श्रीमतीको हत्या गरेर भागेका पोखराका एक युवा पोखराबाटै पक्राउ परेका छन्।

गएको माघ ३ गते राती करीब ११ बजेको समयमा म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका वडा नं. ७ झिनडाँडा की अन्दाजी २० वर्षीया पुनमाया वि.कको हत्या गरेको आरोपमा पोखरा बस्ने उनका श्रीमान पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २३ ठुलाखेत घर भई हाल पोखरा ७ सृजनाचोक डेरा गरी बस्ने अन्दाजी वर्ष ३२ को प्रेम भन्ने रमेश कामी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक गोबिन्द सुबेदीले जानकारी दिए।

अभियुक्त प्रेम भन्ने रमेश कामीले गएको माघ ३ गते राती म्याग्दीको झिनडाँडामा बस्दै आएकी आफ्नी श्रीमती पुनमाया वि.क.लाई घरबाहिर पिसाव फेर्न बाहिर निस्केको समयमा धारिलो हतियार चक्कुले हानि हत्या गरेको प्रहरी निरिक्षक सुबेदीले बताए। त्यति बेला शुरुमा गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल म्याग्दी पुर्याइएकोमा सोही उपचारको क्रममा भोलिपल्ट बिहानपख सवा दुई बजे मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार अभियुक्त प्रेम भन्ने रमेश कामी माघ ३ गते पोखराबाट बागलुङ ढोरपाटन हुँदै म्याग्दी जिल्ला धवलागिरी गाँउपालिका वडा नं. ०७ झिनडाँडास्थित पुनमाया बिक बसेको माइती घर नजिकै पुगेर घरभन्दा केही माथि लुकी छिपि बसेर श्रीमती पिसाब फेर्न निस्किएको बेला चक्कुले आक्रमण गरेको बताइएको छ। अभियुक्तले श्रीमतीमाथि उक्त दिन धारिलो हतियार चक्कुले आक्रमण गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्।

अभियुक्त प्रेम भन्ने रमेश कामीलाई यस जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले हत्या भएको भोलिपल्ट राती नौ बजे पोखराको बिरौटाबाट पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

अभियुक्तले घटना गराउने बखत लगाएको ठानिएको रगत लागेको दाग देखिने कम्ब्याट ज्याकेट एक थान, Redmi मोबाईल थान १, Ncell र NTC को सिम थान एक – एक थान समेत बरामद गरिर्सकेको बताइएको छ।

अभियुक्त प्रेम भन्ने रमेश कामीबिरुद्ध गएको माघ ६ गते म्याग्दी जिल्ला अदालतमा मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया