पोखरा, ४ माघ २०८२।
सुनसरीको धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका हुन्।
उक्त बस दुर्घटनामा दुई महिलासहित पाँच जनाको ज्यान गएको र उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमणमा गएको उक्त बस दुर्घटना भएको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले जानकारी दिए। तीब्र गतिमा रहेको उक्त बसको ब्रेक फेल भई अनियन्त्रित भएर सडक किनारमा पल्टिएको प्रहरीले बताएको छ।
सोहि दुर्घटनामा घाइते भएका १३ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले बताएको छ।
दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठक्कर दिँदा पसलसमेत क्षतिग्रस्त भएको छ। दुर्घटनाग्रस्त बसमा जनकपुर लेखिएको बोर्ड भेटिएकाले बसमा सवार मानिसहरू जनकपुरबाट आएको प्रहरीले बताएको छ ।