काठमाडौँ, २ माघ २०८२।
चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या काण्डमा संलग्न रहेको आरोप लागेका एक अभियुक्त झन्डै आठ वर्षपछि पक्राउ परेका छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ घर भएका ३५ वर्षीय गौतम चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या काण्डमा संलग्न रहेको आरोपमा बिहिबार काठमाण्डौबाट पक्राउ परेका हुन्। उनी सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’ समूहका सदस्य हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए ।
गौतम विरुद्ध २०७५ वैशाख १९ गते मोरङ जिल्ला अदालतमा संगठित अपराध निवारण ऐन–२०७० अनुसारको कसुर, सनम शाक्यलाई अपहरण गरेर शरीर बन्धक बनाएको कसुर र मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सजायको माग दावी गरेर अभियोपत्र दायर गरिएको थियो । गौतम त्यसबेलादेखि फरार थिए ।
अभियोग पत्रमा चौथो नम्बरमा प्रतिवादी कायम गरिएका गौतमलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले पुष्टि गरे ।
फ्लाई दुबईको विमानबाट २०७४ माघ ९ मा विमानस्थलमा आइपुगेको साढे ३३ किलो सुन विमानस्थल पार भएपछि मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल छेउबाट हराएको थियो । विमानस्थलबाट सुन पुरानो बानेश्वरमा लगेर छाड्ने जिम्मा लिएर सानु बनले २०७४ माघ २२ मा विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरे ।
त्यसपछि गोरे समूहले सुन ‘गायब’ बनाएको आरोप लगाउँदै मोरङ उर्लाबारी नगरपालिका–७ घर भएका सनम शाक्यको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०७४ फागुन १९ मा प्रहरीले विराटनगर महानगरपालिका–३ बाट सनमको शव बरामद गरेको थियो । ३३ केजी सुन र सनम हत्या प्रकरणमा ६३ जना प्रतिवादी कायम गरिएको थियो ।
पुस ३० मा पक्राउ परेका सुरेन्द्र गौतम सनमको हत्या हुँदा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको निर्भाना कन्ट्री क्लबमा गोरे सँगै थिए । सोही क्लबमा यातना दिएर सनमको हत्या गरिएको थियो । हत्यापछि शव गाड्न भनेर खाल्डो खन्ने काममा पनि उनी संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।
चूडामणि उप्रेती ‘गोरे’को निर्देशनमा उनले अर्का प्रतिवादी मोहन काफ्लेलाई हातखुट्टा बाँधेको काफ्लेले बयानमा खुलाएका छन् । मोरङको उर्लाबारी घर भएका अर्का प्रतिवादी काफ्लेले त्यतिबेला बयानमा भनेका थिए, ‘सुरेन्द्र गौतमले हातखुट्टा बाँधेपछि गोरेले मलाई कुटे, यातना दिए ।’
गोरेको निर्देशनमा गौतमले सनमलाई दण्ड र सजाय दिने भूमिका खेलेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले करिब २ महिना १० दिनसम्म छानबिन गरेर सनम शाक्यको हत्या र तस्करी भएर आएपछि लुटिएको भनिएको साढे ३३ केजी सुनबारे प्रतिवेदन सरकारलाई बुझाएको थियो ।