पोखरा , १ माघ २०८२।
सुनसरीमा आज बिहान ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो भने तीन जना घाइते भएका हुन्।
विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेकाे ट्रक सोनियाहीस्थित सडकको घुम्तीमा पल्टिँदा सामानले थिचिएका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।
उक्त दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ट्रकमा चालकसहित जम्मा ९ जना सवार थिए । जसमध्ये चालकको क्याबिनमा ४ जना र पछाडि सामानमाथि ५ जना बसेका थिए । अगाडि क्याबिनमा सवार ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् । चालक भने फरार छन् । घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको खड्काले बताए ।