पोखरा , १ माघ २०८२।
गोरखाको आरुघाट क्षेत्रमा श्रृंखलावद्ध चोरी गरेर आतंक मच्चाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
गोरखाको धार्चे गाउँपालिका–५ का १९ बर्षिय रनबिर भनिने रम्बिस गुरुङलाई प्रहरीले आरुघाट गाउँपालिकामा श्रृंखलावद्ध चोरी गरेर आतंक मच्चाएको आरोपमा मंगलवार पक्राउ गरेको हो ।
अभियुत गुरुङले गएको पुस ७ गते आरुघाट गाउँपालिका–१० स्थित डाँडागाउँ स्वास्थ्य केन्द्र र स्थानीय सकुन्तला खत्रीको घरमा चोरी गरेकोमा त्यसको भोलिपल्ट वडा नम्वर ७ चुरुङस्थित कर्णबहादुर मगरको घर पसलमा पनि चोरी गरेको आरोप प्रहरीले लगाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार, गुरुङको साथबाट ताल्चा फोर्न प्रयोग हुने बिभिन्न औजारसहित सुनको बेरुवा रिङ दुई थान, गकुल मुन्द्रा, लकेट र सुनजस्तो पहेलो धातुबाट बनेको सिक्रि एक÷एक थान बरामद भएको छ । प्रहरीले गुरुङको साथबाट ७.९ लाल तौल भएको सुनको बेरुवा रिङ २ थान, सुनको १०.५ लाल तौल भएको गुकुल मुन्द्रा १ थान, सुनको लकेट १ थान र सुनजस्तो पहेँलो धातुबाट बनेको सिक्री १ थान बरामद गरेको छ ।
त्यस्तै नेपाल टेलिकमको प्रयोग नभएको १०० रुपैयाको रिचार्ज २० थान, ५० रुपैयाको रिचार्ज २६ थान, एनसेलको १०० रुपैयाको रिचार्ज १७ थान र ५० रुपैयाको ३२ थान रिचार्ज कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । उनको साथमा साउदी रियल, भारतिय र नेपाली रुपैया समेत फेला परेको बताइएको छ । पक्राउ परेका गुरुङबिरुद्ध चोरी शीर्षकमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।