काठमाडौँ, २७ पुष २०८२।
डडेलधुरामा मोटरसाइकल र मलामी बोकेको ट्याक्टर ठोक्किँदा एक जना शिक्षकसहित दुई युवाको मृत्यु भएको छ।
जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से २ त ७४७४ नम्बरको ट्याक्टर र गाइबाधेबाट जोगबुढातर्फ आउँदै गरेको १ प ९९७३ नम्बरको मोटरसाइकल परशुराम–९ कुयापानी नजिक एक आपसमा ठोक्किँदा एक जना शिक्षकसहित दुई युवाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर परशुराम नगरपालिका–१२ का २७ वर्षीय नवीन साउद र जोगबुढास्थित ग्रीन भ्याली इङ्लिस बोर्डिङ स्कुलका ३५ वर्षीय शिक्षक मानबहादुर जाग्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेको ट्याक्टरमा सवार व्यक्तिहरू शुक्रबार महाकाली नदीमा डुबेर मृत्यु भएका परशुराम नगरपालिका–९ का इन्द्रबहादुर बोहराको अन्त्येष्टि सकेर घर फर्किँदै थिए। दुर्घटनापछि घटनास्थलमै स्थानीयवासी र सुरक्षाकर्मी पुगि जोगबुढा अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो।