चितवनको रत्ननगरमा ६८ वर्षीया बृद्धाको हत्या : खाटमा हातखुट्टा बाँधेको अवस्थामा भेट्टिइन्

चितवनको रत्ननगरमा ६८ वर्षीया बृद्धाको हत्या : खाटमा हातखुट्टा बाँधेको अवस्थामा भेट्टिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ पुष २०८२
  • 5.7K
    Shares

पोखरा, २७ पुष २०८२।

चितवनको रत्ननगरमा ६८ वर्षीया एक बृद्धाको आफ्नै घर कोठामा हत्या गरेको अवस्थामा भेटिएकी छिन। रत्ननगर नगरपालिका-४ फिल्महल रोड निवासी ६८ वर्षिय सुकमाया देवी तामाङ शनिवार बिहान १० बजे आफ्नै घर कोठामा हत्या गरेको अवस्थामा भेटिएकी हुन्।

उनलाई उनी सुत्ने गरेको खाटमा हातखुट्टा बाँधेको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

कोठमा ढोका फोडिएको छ,जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले भने,कोठामा कोही प्रवेश गरेको देखिन्छ । घटनाको प्रकृति हेर्दा मुख बाँधेर हत्या गरेको अनुमान गर्न सकिन्छ । स्थानीयले बृद्धले लगाएका सुनका गरगहना नभेटिएको भन्दै गहना चोर्नका लागि हत्या गरिएको बताएका छन ।

तामाङ घरको तेस्रो तलामा एक्लै बस्दै आएकी थिइन् । सधैंझैँ बिहानै घरबाहिर देखिने ६८ वर्षीया सुकमाया देवी तामाङ नदेखिएपछि छिमेकीहरूलाई शंका लाग्यो। शंकाले ढोका ढकढक्याउँदै अन्ततः ढोका फुटाउँदा उनीहरूले देखेको दृश्यले सबैलाई स्तब्ध बनायो—सुकमाया देवी आफ्नै खाटमा हात र खुट्टा बाँधिएको अवस्थामा मृत थिइन्।

शनिबार बिहान पौने ११ बजेसम्म पनि उनी बाहिर ननिस्किएपछि छिमेकीहरू घरभित्र पसेका थिए। घरभित्रको अवस्था अस्तव्यस्त थियो। सुतिरहेकै खाटमा बाँधिएको अवस्थामा शव फेला परेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। घटनास्थलको प्रारम्भिक अवलोकनले यो सामान्य मृत्यु नभई योजनाबद्ध र क्रूर हत्या भएको संकेत गरेको प्रहरीको भनाइ छ।

शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सम्भावित अपराधीको खोजी तीव्र बनाएको छ भने आसपासका सीसीटीभी फुटेज, छिमेकीसँगको सोधपुछ र मृतकको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया