पोखरा, २१ पुष २०८२।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसन्न चुनाबमा सहभागी हुन निर्देशन दिएका छन्।
सुरक्षा सल्लाहकार अजित डोभलसंग आइतबार राती नयाँ दिल्लीस्थित ताजमान सिंह होटलमा भएको भेटका क्रममा उनले प्रचण्डलाई त्यस्तो निर्देशन दिएका हुन्। उनीहरूले त्यहाँ ‘डिनर’ गरेका समाचार स्रोतहरुले जानकारी दिएका छन्।
त्यही क्रममा क्रममा भारतीय सुरक्षा सल्लाहकार डोबलले नेपालको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। सल्लाहकार डोभलले सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा त्यसको विकल्प खोज्न नहुने सुझाव दिएका थिए। डोभलले भारत सरकारले निर्वाचनमार्फत नेपालमा स्थिर सरकार चाहेको सन्देश सुनाएका थिए। निर्वाचनबाट नै राजनीतिक प्रणाली जोगिने र भारतले समेत सोही कुरा चाहेको प्रचण्डलाई डोभलले सुनाएको स्रोतले बताएको छ।
लोकतन्त्र जोगाउन उत्तम विकल्प नै निर्वाचन भएको डोभलले जोड दिएका थिए। जवाफमा प्रचण्डले नेपालको राजनीतिक दलहरू निर्वाचनको विपक्षमा नरहेको बताएका थिए। प्रचण्डले आफू दिल्ली आउनु अगाडि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको समेत बताएका थिए।
प्रचण्ड छोरी गंगाका साथमा आइतबार नयाँ दिल्ली गएका थिए। त्यस्तै नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासमेत सोमबार नयाँ दिल्ली गएकी छन्।