पोखरा, २० पुष २०८२।
विभिन्न सरकारी कार्यालयहरूको वेबसाइट तथा सूचना प्रणालीमा अनधिकृत पहुँच गरी डाटा चुहावट गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले दुई जना झापालीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका ९ का २० वर्षीय सन्तोष चिमरिया र सोही स्थानका १९ वर्षीय विकास पौडेल रहेका छन्।
नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र निर्वाचन आयोगलगायतका निकायहरूको वेबसाइट ह्याक भएको घटनापछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानको क्रममा उनीहरूको संलग्नता खुलेपछि चिमरियालाई झापा र पौडेललाई सिन्धुपाल्चोक जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउका क्रममा उनीहरूको साथबाट ल्यापटप, मोबाइल फोन, हार्ड ड्राइभ लगायतका इलेक्ट्रोनिक उपकरणहरू बरामद गरिएको छ। घटनासँग सम्बन्धित थप विवरण संकलन भइरहेको र विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।