ओखलढुंगामा शृंखलाबद्ध दुई हत्याकाण्डमा तीन जनाको हत्या गर्ने चार जना पक्राउ

ओखलढुंगामा शृंखलाबद्ध दुई हत्याकाण्डमा तीन जनाको हत्या गर्ने चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० पुष २०८२
  • 3.4K
    Shares

पोखरा, २० पुष २०८२।

ओखलढुंगामा भएका दुई वटा हत्याकाण्डमा संलग्न चार जना पक्राउ परेका छन्।

गएको पुस १५ गते चिशंखुगढी गाउँपालिका ६ भदौरेमा किराना पसल संचालक ६० वर्षीय सोभितमान थापा मगर र सोही उमेरकी उनकी श्रीमती रत्नमाया थापा मगर तथा गएको असोज २६ गते सिद्धिचरण नगरपालिका ४ चार्खुकी ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की) को हत्या गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शंखुगढी गाउँपालिका ३ का २८ वर्षीय संगम राई, सोही गाउँपालिकाका ४ का ३० वर्षीय विनोद राई तथा ३० वर्षीय प्रकाश भुजेल र चिशंखुगढी ८ का ३० वर्षीय अशोक भुजेल रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ। उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले अनुसन्धान गरेर पुस १७ र १८ गते विभिन्न स्थानबाट पकराउ गर्न सफल भएको प्राप्त समाचारमा जनाइएको छ । 

प्रहरीका अनुसार उनीहरुले गएको असोज २६ गते चार्खुमा एक्लै बस्दै आएकी रत्न कुमारी कटवाल (कार्की) को बन्चरो प्रहार गरी हत्या गरेर उनको घरबाट नगद तथा सुनका गरगहना लुटेका थिए।

त्यसैगरी गएको पुस १५ गते किराना पसल सञ्चालक ६० वर्षीय सोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको कोदालो र अन्य घरेलु हतियार प्रहार गरी हत्या गरेर शवलाई गोठमा लगेर स्याउलाले छोपेर पसल र कोठामा रहेको एकलाख नगद तथा सुनका गरगहना गरी करिब ६ तोला सुन लुटपाट गरि भागेका थिए । 

प्रहरीले अभियुक्तहरूको साथबाट हत्यामा प्रयोग गरिएको बन्चरो, खुकुरी, र लुटिएको सुन गालेर बनाइएको रिङ बरामद गरेको छ । साथै, मृतकको पसलबाट लुटिएको रिचार्ज कार्ड, दुई थान भरुवा बन्दुक र चार थान मोबाइल समेत फेला परेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । 

प्रचलित कानुन अनुसार क्रूर हत्यामा संलग्नलाई जन्मकैदको व्यवस्था छ भने डाँका र अवैध हतियारमा समेत थप कैद र जरिवाना हुने प्रहरीले जनाएको छ ।

ओखलढुंगाको दुई छुट्टाछुट्टै स्थानमा तीनजनाको ज्यान लिनेगरी भएका विभत्स हत्या र लुटपाटका घटनामा संलग्न एउटा पेशेवर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया