बाघको आक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु


  • जन संचार
  • आइतबार, २० पुष २०८२
  • 3.1K
    Shares

बाघको आक्रमणमा परेर बाँकेमा एक वृद्धको मृत्यु भएको छ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीका ६१ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणमा परेर मृत्यु भएको हो ।

बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जङ्गलमा गाई चराउन गएको बेला शनिबार दिउँसो २ बजेतिर उनीमाथि बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। 

भण्डारीसँगै गाई चराउन गएका स्थानीय पिमलाल डाँगीले बाघले एक्कासि आक्रमण गरेर लगेको जानकारी गराएको प्रहरीको भनाइ छ।भण्डारीसँगै रहेका अन्यलाई पनि बाघले आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

घटनापछि बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतको टोली जङ्गलमा पुगेको थियो। 

बाघले आक्रमण गरेको उक्त क्षेत्र पूर्वपश्चिम राजमार्गको सौरी खोलादेखि उत्तरतर्फ रहेको छ। प्रहरीका अनुसार भण्डारीको शव नजिकै ५० मिटरको दूरीमा एउटा गाईलाई समेत बाघले आक्रमण गरेर मारेको थियो।

प्रतिक्रिया