काठमाडौँ, १९ पुष २०८२।
रुस–युक्रेन युद्धमा रुसी सेना भएर युक्रेनबिरुद्ध लडिरहेका बैतडीका एक युवाको मृत्यु भएको छ।
रुसी सेनामा भर्ती भएका बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको रुस–युक्रेन युद्धमा परेर मृत्यु भएको हो।
करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएको मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए ।
भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्यु भएको खबर परिवारलाई दिइएको उनले बताए । मृतक भाटको घरमा आमा–बुबा, भाइ र श्रीमती छन् ।
भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका– ९ असुरका अर्जुनदत्त भट्टको पनि गएको वैशाखमा मृत्यु भएको पुष्टि भएको थियो । सोही समयदेखि घरपरिवारले भाटको बिषयमा खोजी गरिरहेका थिए ।