हेटौडामा सवारी चेकिङ गरिरहेका ट्राफिक जवानलाई घिसार्दै भागेको कार र चालक चितवनबाट समातिए

हेटौडामा सवारी चेकिङ गरिरहेका ट्राफिक जवानलाई घिसार्दै भागेको कार र चालक चितवनबाट समातिए


  • जन संचार
  • शुक्रबार, १८ पुष २०८२
  • 8.2K
    Shares

पोखरा १८ पुस २०८२।

हेटौडामा बिहिबार साँझ सवारी चेकिङ गरिरहेका ट्राफिक जवानलाई घिसार्दै भागेको कार र चालकलाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको छ।

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि बिहीबार साँझ मापसे जाँचको क्रममा रहेका ट्राफिक प्रहरी जवान विजयप्रताप साहलाई घिसार्दै भागेको बा. ६च ८४०९ नम्बरको कार र त्यसका चालकलाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको हो।

प्राप्त विवरण अनुसार , बिहीबार साँझ करिब ७ बजेर ४५ मिनेटमा हेटौंडा उपमहानगरपालिका–३ लेवटमा एक सवारीसाधनले ठक्कर दिंदा पैदलयात्री स्थानीय बासिन्दा प्रकाश दाहालको मृत्यु भएको थियो । पैदलयात्रामा रहेका दाहाललाई ठक्कर दिएलगत्तै सवारीसाधन लिएर चालक भागे पछि ट्राफिक प्रहरीले त्यस कारलाई समात्न जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि सवारी साधन चेकिङ शुरु गरिएको थियो।

सोही क्रममा ट्राफिक प्रहरी जवान साहले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. ६च ८४०९ नम्बरको कार रोकेर चालकको मादक पदार्थ सेवन जांच गर्न खोजेका थिए। मापसे जाँचका लागि प्रहरी जवान साहले चालकको मुखतर्फ मेशिन लैजान हात बढाउने बित्तिकै चालक कार लिएर हेटौंडा बजारतर्फ भागेका थिए ।

त्यही क्रममा चालकले कारको सिसा लक गर्दै भागेपछि प्रहरी जवान साहको हात च्यापिएको थियो । उनी करिब पाँच मिटरसम्म घिसारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक पुरुषोत्तम पौडेलले जानकारी दिए।

गम्भीर घाइते भएका ट्राफिक प्रहरी जवान विजयप्रताप साहको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको र टाउकोमा १८ वटा टाँका लगाइएको, घुँडा र मुखमा सामान्य चोट रहेको उनले बताएका छन् ।

घटनापछि फरार कारलाई आज प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको छ । कारचालक प्रहरीको चेकिङ छलेर बिहीबार राति नै चितवन फर्किएको पाइएको पौडेलले बताए ।

यस अघि ट्राफिक प्रहरीलाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको कार भागेको समाचार प्रकाशन भएकोमा हाल आएर ट्राफिक प्रहरीले उक्त कार भारतीय नम्बर प्लेटको नभै बा. ६च ८४०९ नम्बरको नेपाली नम्बर प्लेटको कार भएको जानकारी दिएकाले सच्याइएको छ : सम्पादक

प्रतिक्रिया