पोखरा , १४ पुष २०८२।
भारतीयलाई नेपाली नागरिकता दिएको आरोपमा सर्लाहीबाट एक जना वडाध्यक्ष पक्राउ परेका छन्।
मलङ्गवा नगरपालिका–७ का वडाध्यक्ष मो. इशा मिकरानीलाई भारतीयलाई नागरिकता दिएको आरोपमा पक्राउ परेका हुन्
वडाध्यक्ष मिकरानीले झुठो विवरणको आधारमा भारतीय नागरिक रामविश्वास रायलाई नेपाली नागरिकता दिन सिफारिश गरेको आरोप लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत वैशाख २२ गते नै झुठो विवरणमा नागरिकता जारी भएको विषयमा वडाध्यक्ष मिकरानीको संलग्नता रहेकाले पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो।
वडाध्यक्ष मिकरानीविरुद्ध आजै सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले जानकारी दिए।