निलेर पेटभित्र लागुऔषध कोकिन तस्करी गरिरहेका अन्तर्राष्ट्रिय गिरोहका तीन विदेशी काठमाण्डौको सिनामंगलस्थित होटलबाट पक्राउ

निलेर पेटभित्र लागुऔषध कोकिन तस्करी गरिरहेका अन्तर्राष्ट्रिय गिरोहका तीन विदेशी काठमाण्डौको सिनामंगलस्थित होटलबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ पुष २०८२
  • 6.5K
    Shares

पोखरा , ११ पुष २०८२।

पेटभित्र राखेर लागुऔषध कोकिन तस्करी गरिरहेका लागुऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका तीन जना विदेशी नागरिक काठमाण्डौको सिनामंगलस्थित होटलबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई जना भारतीय र एक जना थाइल्याण्डका नागरिक रहेका छन्। उनीहरु हवाईमार्ग हुँदै  नेपाल आएका थिए।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका सदस्य ठानिएका थाई नागरिक ४० वर्षीया रुसानी कामा, भारतीय नागरिकहरु ५५ वर्षीय जेभिएर र २१ वर्षीय मुर्सलिन हुसेनलाई काठमाण्डौको सिनामंगलस्थित होटलबाट लागुऔषध कोकिनसहित पक्राउ गरिएको ब्यूरोका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।

प्राप्त जानकारी अनुसार , लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी थाई नागरिक ४० वर्षीया रुसानी कामालाई विशेष स्रोतबाट प्राप्त सूचनाका आधारमा पुस ८ गते सिनामङ्गलस्थित एक होटलमा फेला पारी खानतलासी गर्दा १२ वटा प्लाष्टिक कोटेट क्याप्सुलभित्र लागुऔषध कोकिन बरामद गरिएको थियो।

थप अनुसन्धानका सिलसिलामा उनले मुखबाट निलेर पेटभित्र लुकाइ ल्याएको अन्य २९ वटा क्याप्सुलसमेत निकालिएको थियो।  अस्पतालमा स्वास्थ्यकर्मीको सहयोगबाट उक्त क्याप्सुल निकालिएको र उनीसँग रहेको ४१ प्लाष्टिक कोटेट क्याप्सुल लागुऔषधको तौल ५५० ग्राम रहेको डिएसपी निरौलाले बताए।

त्यस्तै लाओसबाट सिङ्गापुर हुँदै काठमाडौं आएका भारतीय नागरिक ५५ वर्षीय जेभिएरलाई निगरानी गर्दै जाने क्रममा काठमाडौँको सिनामङ्गलस्थित सडकबाट सोही दिन पक्राउ गरिएको छ।

उनको साथमा रहेको सुटकेस रिसिभ गर्न आएका अर्का भारतीय नागरिक २१ वर्षीय मुर्सलिन हुसेनलाई समेत पक्राउ गरिएको छ ।

उनीहरूमाथि खानतलासी गर्दा उक्त सुटकेसभित्र रहेको कफीको प्याकेटमा लुकाइराखेको अवस्थामा लागुऔषध कोकिन तीन किलो ७५० ग्राम रहेको पनि सहायक प्रवक्ता निरौलाले बताए।

ब्यूरोले उनीहरूलाई बिहीबार अदालतमा पेस गरिएकामा अदालतबाट म्याद थप भई अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार