प्रदर्शन मिति तय भएपछि चलचित्र ‘आवेग’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र १२ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रको सार्वजनिक ट्रेलरमा नायक आर्यन सिग्देलको एक्सन अवतार देखाइएको छ ।
साउथ इन्डियन चलचित्रको शैलीमा यसलाई निर्माण गरिएको छ । आर्यनलाई ‘सौर्य’ नाम दिएर चलचित्रमा एङ्ग्री अवतारमा उभ्याइएको छ ।
निर्देशक निरौलाले व्यवसायिक चलचित्र बनाउन खोजेको बताए । सार्वजनिक चलचित्रको पहिलो अनुहारमा पनि त्यस्तो झल्को देखिएको छ ।
आर्यन उपस्थित नहुँदा निर्देशक आक्रोशित
नायक आर्यन सिग्देलले आउछु भनेर एक्कासी काठमाण्डौ बाहिर हिडिदिएपछि चलचित्र ‘आवेग’का निर्देशक बसन्त निरौला आक्रोशित देखिए । उनले जुन कलाकारमाथि ७० लाख रुपैयाँ निर्माताले लगानी गरेको हुन्छ त्यही कलाकारले धोका दिएको भन्दै आक्रोश पोखे ।
आर्यनले आफू पत्रकार सम्मेलनमा उपस्थित हुने भनेर पनि नभएपछि निर्देशकदेखि निर्माता केही वेखुशी देखिएका थिए ।
चैत्र १२ गते प्रदर्शनमा आउने गरि यो चलचित्रको प्रचार सुरुवात गरिएको छ । बारम्बार प्रदर्शन मिति सरेपनि अब भने चलचित्र चैत्र १२ मा नै रिलिज हुने निर्देशकको भनाई छ । चलचित्रको ३ गीत, ट्रेलर कार्यक्रममा सार्वजनिक गरिएको थियो । सूचना तथा संचारमन्त्री शेरधन राइले चलचित्रको अडियो बिमोचन गरे । उनको साथमा विभिन्न संघसंस्थाका प्रतिनिधी र चलचित्रको निर्माण यूनिले अडियो बिमोचन गरेको थियो ।
एक्सनले भरिएको यो चलचित्रलाई सूर्य कार्कीले प्रस्तुत गरेका हुन् । बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा आर्यन सिग्देल, ध्रुव दत्त, पवित्रा आचार्य, अर्चना डेलाला, रमेश बुढाथोकीको मुख्य भूमिका छ । झमक नारायण घिमिरे, धन सिंह केसी र राजेश्वर श्रेष्ठको चलचित्रमा लगानी छ ।
नायक आर्यन सिग्देल यो चलचित्रमा एक्सन अवतारामा देखिएका छन् । पूर्णतया व्यवसायिक चलचित्र बनेको भन्दै प्रस्तुतकर्ता सूर्य कार्कीले आफू यो चलचित्रबाट भने उकासिने विश्वास व्यक्त गरे ।