३० वर्ष जागीर खाएर घर जान एक हप्ता बाँकी रहंदा एसएसपी गिरिबिरुद्ध भ्रस्टाचार मुद्दा दर्ता

३० वर्ष जागीर खाएर घर जान एक हप्ता बाँकी रहंदा एसएसपी गिरिबिरुद्ध भ्रस्टाचार मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ पुष २०८२
  • 4.1K
    Shares

पोखरा, ८ पुष २०८२।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।


नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर प्रहरी सेवामा प्रवेश गरेको अभियोगमा उनीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

हाल नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी गिरी सेवा अवधिका कारण यही पुस १५ गते अनिवार्य अवकाशमा जान लागेका बेला भ्रष्टाचारको मुद्दा परेको हो । उनी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

सुरक्षा निकायका उच्चपदस्थ कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा एसएसपी गिरीको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले गरेको अनुसन्धान अनुसार गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट एसएलसी उत्तीर्ण गरेको भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। तर, उक्त बोर्डको अभिलेखमा अन्तिम क्रमांक ५७६ सम्म मात्र छापिएको र गिरीले पेस गरेको प्रमाणपत्रमा रोल कोड ५५०१ र रोल नम्बर ७१८ रहेको आयोगको भनाइ छ। यस आधारमा उनको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको आयोगले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

गिरीले सोही नक्कली एसएलसीको प्रमाणपत्र प्रयोग गरी २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङको योग्यता हासिल गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनले ती प्रमाणपत्रहरू पेस गरी २०५२ मा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा सुरु नियुक्ति लिएका थिए। सोही आधारमा बढुवा हुँदै उनी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पुगेका थिए।

झुटा र नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी ओहदा, लाभ र सुविधाहरू लिएको देखिएकोले गिरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको आयोगको दाबी छ।

प्रतिक्रिया