पोखरा, ८ पुष २०८२।
काठमाडौं उपत्यकामा ऋण तिर्न नसकेपछि एक समूहले ऋण बुझाउनुपर्ने दुई जनाको श्रृंखलाबद्ध हत्या गरेको खुलेको छ ।
ललितपुरको शेरफाँटस्थित इनारभित्र बोरामा प्याक गरिएको अवस्थामा भेटिएको शबको बारे अनुसन्धान गरिरहेको प्रहरीले ललितपुरकै सूर्यविनायक–७ स्थित जङ्गलमा भेटिएको अर्को शबको बारे सोधीखोजी गर्दै जाँदा त्यस्तो तथ्य खुलेको हो।
प्रहरीका अनुसार , बुल्गेरिया उड्ने तयारीमा रहेका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शब गएको पुष २ गते ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटस्थित फार्म हाउस नजिकको इनारमा भेटिएको थियो। अनुसन्धानका क्रममा उनको हत्या उनकै बहिनि ज्वाई सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेलले गरेको खुले पछि प्रहरीले ढुंगेललाई पक्राउ गरेको थियो , ढुंगेलले दिएकै बयानका आधारमा प्रहरीले जयराज अधिकारीलाइ पनि पक्राउ गरी मुद्दा चलाएको छ।
प्रहरी नियन्त्रणमा पुगे पछि ढुंगेल र अधिकारीले दिएको बयानका आधारमा भोजपुरका २१ वर्षीय पारुहाङ राईको पनि हत्या भएको खुलासा भएको प्रहरीले बताएको छ । प्रहरीले पारुहाङको शव भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ स्थित जङ्गलमा फेला पारेको हो । यो सँगै एकै समूहबाट दुई जनाको हत्या भएको पुष्टि भएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।
पक्राउ परेका देवराज ढुंगेल र जयराज अधिकारीले केशवराज हायु र पारुहाङ राईको हत्या गरेको स्वीकार गरेको बताएका छन् । ढुङ्गेलको बयानका आधारमा अर्का आरोपित जयराज अधिकारीलाई आज बिहान सिन्धुलीबाट पक्राउ गरिएपछि दोस्रो हत्याको रहस्य खुलेको थियो । अधिकारीले नै पारुहाङको पनि हत्या गरी जङ्गलमा फालेको स्वीकार गरेपछि प्रहरीले शव उत्खनन गरी बरामद गरेको हो ।
पत्नीलाई जापान पठाउनका लागि लिएको ऋण तिर्न नसक्दा हायुको हत्या भएको थियो । सिन्धुलीको सुनकोशी गाउँपालिका-४ का नाताले उनका बहिनी ज्वाइँ २१ वर्षीय देवराज ढुंगेलले हायुको हत्या गरेका थिए । ढुंगेलले गाउँकै साथी २० वर्षीय अधिकारीसँग मिलेर हायु र राईको हत्या गरेका हुन् । दुबैसँग ढुंगेलले ऋण लिएका थिए ।
अघिल्लो दिन हायुको हत्यामा सफलता मिलेपछि ऋण लिएका जतिलाई मार्नु नै उपयुक्त हुने ठानेर त्यस्तो कार्य गरेको पक्राउ परेका ढुंगेलले प्रहरीलाई बताएका छन् । दुबैको हत्याका क्रममा धारिलो हतियारले टाउकोमा प्रहार गरिएको थियो ।