सिन्धुली, ६ पुष २०८२ ।
सिन्धुलीमा आलागी हुँदा बुहारीको मृत्यु भएको छ भने ससुरा गम्भीर घाइते भएका छन्।
जिल्लाको कमलामाई नगरपालिका ६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको हो भने ससुरा ६२ वर्षीय दुर्गामान बम्जन गम्भीर घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले दिएको जानकारी अनुसार , दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको छ । उहाँको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।
दिउँसो खाजा खाने समयमा बुहारीलाई आगो लागेको देखेपछि निभाउन खोज्दा ससुरालाई पनि आगोले पोलेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो भएको घटनाका बेला घरमा मृतक सुशीला, उहाँका सासू, ससुरा र नन्द घरमा नै भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।