पोखरा, ७ पुष २०८२।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा भैरहवा कारागारको थुनामा रहेका नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी रिहा भएका छन्।
रुपन्देही जिल्ला अदालतले तोकेको तीन करोड रुपियाँ धरौटी राखेर पूर्व डिआइजी सोमबार कारागारमुक्त भएका हुन्।
न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले आइतबार धरौटी लिएर रिहा गर्ने आदेश दिएको थियो ।
जोशीले एकमुष्ट तीन करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जिल्ला अदालतले जनाएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत बिहीबार रवि लामिछानेलाई बिगो बापत जमानत लिएर रिहा गर्न आदेश दिँदा जोशीको हकमा पनि सक्कल जमानतसहित निवेदन दिएमा पुनःविचार गर्न आदेश दिएको थियो।
त्यतिबेला रवि लामिछानेलाई भने एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
तर उच्च अदालतले रविलाई थुनामा पठाउने आदेश गर्दै जोशीलाई पनि थुनामै राख्ने आदेश सदर गरेको थियो। सर्वोच्चले पनि थुनामा राख्ने आदेश नै सदर गरेको थियो।
त्यसपछि दुवै जनाले बिगोबापत धरौटी राखेर रिहा गर्न माग गर्दै निवेदन दिएका थिए। जिल्ला अदालतले यसरी रिहा गर्न नमिल्ने आदेश गरेको थियो। तर जिल्लाको आदेश बदर गर्दै उच्चले दुवै जनालाई थुनामुक्त भएर मुद्दा लड्ने बाटो खोलिदिएको हो।
लामिछानेले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएका थिए। त्यसमध्ये एक करोड पहिल्यै बुझाएका थिए।