पोखरा ५ पुष २०८२।
तनहुँ कारागारबाट भागेका तीन जना वलात्कारी फेरि पक्राउ परेका छन्।
जेन जी आन्दोलनको क्रममा गत भदौ २४ गते तनहुँ कारागारबाट भागेका थप तीन जना वलात्कारी फेरि पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा भिमाद नगरपालिका–६ शान्तिनगर बस्ने ३० वर्षीय पिताम्बर नेपाली, बन्दीपुर गाउँपालिका–१ नाहाला बस्ने ६० वर्षीय बमबहादुर कुवंर र आँबुखैरेनी गाउँपालिका–६ पुर्लुङ बस्ने ६५ वर्षीय चन्द्रबहादुर भुजेल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। पक्राउ परेका तीन जना नै जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भै दमौलीस्थित तनहुँ जिल्ला कारागारमा बन्दी रहेको अवस्थामा तनहुँ कारागारबाट भागेका थिए।
पक्राउ परेका तीन जनालाई नै तनहुँ कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
यस अघि प्रहरीले बिहीबार गोरखाको पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय सुमन परियारलाई समेत पक्राउ गरेको थियो । निज नकबजनी मुद्धामा सजाय काटिरहेका थिए ।