कास्कीमा ७५ प्रतिशत मत र देशैभर झण्डै ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

कास्कीमा ७५ प्रतिशत मत र देशैभर झण्डै ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ बैशाख २०७४
  • 18.4K
    Shares

पोखरा/ स्थानीय तह निर्वाचन अन्तर्गत ३४ जिल्लाका २ सय ८१ मतदान केन्द्रमा भएको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले झण्डै ७० प्रतिशत यसै गरी कास्कीमा झण्डै ७५ प्रतिशत मत खसेको अनुमान गरेको छ ।आयोगले अहिले साढे ६ बजे विशेष पत्रकर सम्मेलन गरेर अन्तिम विवरण सर्वजनिक गर्ने जनाएको छ ।

पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गाउँपालिका गरी पाँच स्थानीय तह रहेको कास्कीमा कुल मतदाता संख्याको झण्डै ७५ प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । यद्यपी एकिन विवरण संकलनको काम भने भैरहेको छ ।

कास्कीमा मतदानको लागि १५० मतदान स्थलमा २८८ मतदान केन्द्र तोकिएको थियो । जिल्ला भर कुल २ लाख २४ हजार र पोखरा लेखनाथ महानगरमा मात्रै १ लाख ६८ हजार मतदाता रहेका छन् । पोखरा लेखनाथ महानगरको ३३ वटै वडाको मतगणना नदिपुर स्थित नगर विकास प्रशिक्षण केन्द्रमा हुनेछ । सबै मतदान स्थलबाट मतपेटिका मतगणना स्थलमा पुर्याउने काम हुनेछ । गाउँपालिकाको हकमा सम्बन्धित गाउँपालिकामै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

मतपेटिका जम्मा भएपछि मुचुल्का उठाएर सर्वदलिय बैंठक मार्फत निर्णय गरी गणना सुरु गरिने र आज राती अबेर भए भोलि विहानैदेखि मतगणना थालिने बताइएको छ ।

कास्कीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । मतदानको दिन अनुमति विना सञ्चालन गरिएका झण्डै तीन सय सवारीलाई नियन्त्रणमा लिइएको छ ।

आयोगका अनुसार केही ठाउँमा छिटपुट घटना बाहेक सबै स्थानमा उत्साहका साथ सफल रुपमा निर्वाचन सम्पन्न भएको छ ।

प्रतिक्रिया