पोखरा ४ पुष २०८२।
काठमाडौँ उपत्यका भित्रका डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्ट हाउसहरुमा नाबालिकामाथि यौनजन्य गतिबिधि हुने गरेको पाइएको छ।
नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यका भित्रका डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्ट हाउसहरुमा छापा मार्ने क्रममा नाबालिकाहरुमाथि यौनजन्य गतिबिधि हुने गरेको भेटिएको हो।
काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्ट हाउस लगायत दोहोरी सेन्टरहरूमा नाबालिकाहरूलाई आर्थिक लाभ लिई यौन शोषण भइरहेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरी टोलीले नाबालिकाहरूलाई जबरजस्ती यौनजन्य काममा लगाउने कार्य गरेको भेट्टाए पछि पांच जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ घर भएकी ४० वर्षीया गिता कुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ घर भएका ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ घर भएका ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगंगा नगरपालिका-६ घर भएका ४९ वर्षीय भिम बहादुर साउद रहेका छन् ।
साथै प्रहरीले काठमाडौँ ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लव, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजा घर र खप्तड सुदूरपश्चिम गेष्ट हाउसबाट ८ जना नाबालिकाहरूलाई उद्धार गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।