पोखरा, २९ मङ्सिर २०८२।
मकवानपुरमा शिकार खेल्न जाने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।
शिकार खेल्न जाने क्रममा गोली लागेर जिल्लाको मनहरी–६ बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङको मृत्यु भएको हो
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, शुक्रबार दिउँसो २ बजेको समयमा राक्सिराङ गाउँपालिका–८ राजराङ्ग बस्ने ४५ वर्षीय गोपाल ब्लोन र मृतक थिङ एक-एक थान भरुवा बन्दुक बोकेर शिकार खेल्न जंगल गएका थिए। गोपाल ब्लोन जंगलमा हिँडिरहँदा लहरामा अल्झेर लड्दा पछाडि सँगै हिँडिरहेका सेते थिङलाई गोली लाग्दा मृत्यु भएको प्रहरीको दाबी छ ।
घटना लगत्तै गोपाल ब्लोनले अपराह्न ४:४० बजे ईलाका प्रहरी कार्यालय मनहरीमा जानकारी गराएका थिए। सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ।
हाल गोपाल ब्लोनलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब २० किलोमिटर उत्तर र ईलाका प्रहरी कार्यालय मनहरीबाट ३५ किलोमिटर उत्तर-पश्चिममा पर्छ।