पोखरा, २८ मङ्सिर २०८२।
श्रीमतीको हत्या गरी खाल्टो खनेर गाडेपछि बेपत्ता भएको भन्दै खोजीका लागि प्रहरीमा उजुरी दिने एक व्यक्ति सङ्खुवासभाबाट पक्राउ परेका छन्।
सङ्खुवासभाको मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा श्रीमतीको हत्या गरी खाल्टो खनेर गाडेपछि बेपत्ता भएको भन्दै खोजीका लागि प्रहरीमा उजुरी दिएको आरोपमा सङ्खुवासभाबाट पक्राउ परेका हुन्।
प्रहरीका अनुसार , अभियुक्त प्रेम दोर्ची शेर्पाले गत मंसिर ९ गते राति करिब १०ः३० बजेको समयमा आफ्नी श्रीमती ३७ वर्षीया मिना शेर्पालाई मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्कने क्रममा बाटोमा झगडा भए पछि कुटपिट गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि सोही राति मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा शवलाई त्रिपालमा बेरेर खाडल खनी गाडेको उनले प्रहरीलाई बताएका छन् । तर श्रीमतीको हत्या गरेपछि “ओखरबोटे बजारबाट घर फर्कने क्रममा बाटोबाटै बेपत्ता भएको भन्दै प्रहरी चौकी मादी मङ्गलबारेमा खोजीका लागि निवेदन दिएका थिए ।
प्रहरीले खोजतलास गर्ने क्रममा श्रीमान् प्रेममाथि नै शङ्का लागेर सोधपुछ गर्दा उनले आफैले हत्या गरेको स्वीकार गरेका प्रहरीले बताएको छ ।
उनको बयानपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमान्डमा खटिएको अनुसन्धान टोलीले लासको उत्खनन गर्दा जमिनभित्र त्रिपालले बेरेको अवस्थामा महिलाको शव सडेगलेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीले तत्काल प्रेमलाई पक्राउ गरी सङ्खुवासभा जिल्ला अदालत चैनपुरबाट आइतबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको छ । यसबारे इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।