नेकपा एमालेको महाधिवेशनमा नेतृत्व बिबाद : ओली र पोखरेल आ – आफ्नो प्यानल घोषणा गर्न घनिभूत छलफलमा

नेकपा एमालेको महाधिवेशनमा नेतृत्व बिबाद : ओली र पोखरेल आ – आफ्नो प्यानल घोषणा गर्न घनिभूत छलफलमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ मंसिर २०८२
  • 2.2K
    Shares

पोखरा, २८ मङ्सिर २०८२।

नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्र सकिएलगत्तै अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल दुवै पक्ष आ – आफ्नो टिम बनाउन घनिभूत रुपमा कसरतमा जुटेका छन्।

अध्यक्ष केपी शर्मा अ‍ोलीनिकट एक नेताका अनुसार गुण्डुमा अहिले संस्थापन पक्षका नेताहरू घनिभूत छलफलमा छन्।

उनीहरू समूह बनाउन जुटेका हुन्। छलफलमा अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङलगायत नेताहरू सहभागी छन्।

ओली पक्षका एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी संख्या नबढ्ने भएपछि पुरानै पदाधिकारी त्यही पदमा दोहोरिने सम्भावना बढेको छ।

त्यसो त संस्थापन समूहमा अध्यक्ष ओलीदेखि नै त्यही पदमा उम्मेदवारी दिने छन्।

स्रोतका अनुसार उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल नै दोहोरिने सम्भावना बढेको छ। उपाध्यक्ष संख्या थपिँदा पृथ्वीसुब्बा गुरूङलाई सेट गर्ने सम्भावना थियो।

ती नेताले बताएअनुसार महासचिव शंकर पोखरेल नै दोहोरिने सम्भावना बढेको छ। तर उपमहासचिव प्रदीप ज्ञवालीले पनि महासचिवमा दाबी छाडेका छैनन्। पृथ्वीसुब्बा गुरूङले पनि निकट नेताहरूसँग कुनै हालतमा महासचिव नछाड्ने बताइरहेका छन्।

तथापि तीन उपमहासचिवमा पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली, विष्णु रिमाललाई नै दोहोर्‍याउने सम्भावना छ।

सचिवमा मौजुदा कमिटीमा रहेका पद्मा अर्याल, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्ट नै दोहोरिने सम्भावना छ।

बाँकी तीन सचिव पदमा भानुभक्त ढकाल, शेरधन राई, ज्वाला साह, सुमन प्याकुरेल, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यमलाल कँडेल, गोरख बोगटीको बलियो दाबी छ।

अन्तिममा ढकाल, बस्नेत तथा कँडेल र बोगटीमध्ये एक छानिन सक्ने सम्भावना बलियो बन्दै गएको ओलीनिकट नेताहरूले बताएका छन्।

यता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह पनि टिम टुंगो लगाउन छलफलमा जुटेको छ।

ओली समूहमा आकांक्षी बढेका र पदाधिकारीको आकार नबढेकाले असन्तुष्टहरू तान्ने कसरतमा पनि उनीहरू छन्। एक नेताले बताएअनुसार आजभोलि नै ओली पक्षका केही नेता खुल्ने प्रबल सम्भावना छ।

पोखरेल समूहमा अहिलेसम्म योगेश भट्टराईको टुंगो लागेको छ। उनी उपमहासचिव उठ्ने पक्कापक्की भएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डे र गोकर्ण विष्टमध्ये एक जना महासचिव उठ्नेछन्। अर्का उपाध्यक्षमा सेट हुनेछन्।

पोखरेल समूहमा सचिवमा गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल, विन्दा पाण्डे लगायत आकांक्षी छन्।

प्रतिक्रिया