पोखरा, २७ मङ्सिर २०८२।
झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट सात जना पुरुष भागेका छन् । शुक्रवार साँझ करिब सात बजे सुधार केन्द्रको मुख्य गेटको पर्खाल नाघेर उनीहरू भागेका हुन्।
सुधार केन्द्रबाट भाग्नेहरूमा दमक नगरपालिका–१ का २१ वर्षीय नवीन क्षेत्री, दमक–८ का १७ वर्षीय जेम्स धिमाल, कमल गाउँपालिका–४ का २६ वर्षीय किरण राई, कमल–५ का ३१ वर्षीय अर्जुन लिम्बु, सोही स्थानका २३ वर्षीय मनिष मगर, गौरादह नगरपालिका–१ का २३ वर्षीय सन्दीप जैरु र कमल–३ का २० वर्षीय एक्सन लिम्बु रहेका प्रहरीले जानकारी दिएको छ।
सुधार केन्द्रबाट दुर्व्यसनीहरू भागेको खबर पाएपछि उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय दमककबाट प्रहरी निरीक्षक बालकुमार नेवारको कमाण्डमा एउटा टोली खटिएको प्रहरीले दाबी गरेको छ।