पोखरामा रमेश सुनार हत्या प्रकरण : अर्का अभियुक्त पनि पक्राउ

पोखरामा रमेश सुनार हत्या प्रकरण : अर्का अभियुक्त पनि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ मंसिर २०८२
  • 2.4K
    Shares

पोखरा, २७ मङ्सिर २०८२।

पोखरा महानगरपालिका वडा नम्बर १२ भद्रकालीको ढिकालेथरस्थित शिव मन्दिर नजिकै भएको रमेश सुनारको हत्यामा संलग्न रहेका अर्का युवा पनि पक्राउ परेका छन्।

पोखरा १६ का ४० वर्षीय रमेश सुनारको गएको बुधबार राती भएको हत्यामा संलग्न रहेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा ११ फुलबारी बस्ने वर्ष ३२ को हरिराम बुर्लाकोटी शुक्रबार बिहान पख पोखरा १२ सरस्वती स्कुल नजिकैबाट पक्राउ परेका हुन्।

यस अघि सोही हत्यामा संलग्न रहेको आरोपमा पाल्पाको रामपुर नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा १० बस्ने वर्ष ३८ को कृष्ण बहादुर थापा भन्ने कृष्ण बहादुर भुजेललाई पक्राउ गरिसकेको छ।

प्रहरीका अनुसार , जहाँ काम पायो त्यहीं ज्याला मजदुरीको काम गर्दै आएका रमेश सुनार, कृष्ण बहादुर थापा भन्ने कृष्ण बहादुर भुजेल र हरिराम बुर्लाकोटी सधैं जस्तो बुधबार राती पनि ढिकालेथरस्थित खाली जग्गामा बसेर रक्सी खाएका थिए। रक्सी खाने क्रममा बिबाद भए पछि कृष्ण बहादुर भुजेलले हातमुक्का तथा ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको प्रहरीले बताएको छ। हरिराम बुर्लाकोटीले भने रमेश सुनारको उक्त शबलाई केही तल झाडीमा लगेर फाल्न सहयोग गरेको प्रहरी निरिक्षक गणेश पाण्डेले जानकारी दिए।

स्थानीय बासिन्दाले सुनारको शब बिहिबार बिहान करीब सात बजेको समयमा झाडीमा देखे पछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तालिमप्राप्त कुकुरसहित परिचालित प्रहरी टोलीले कृष्ण बहादुर थापा भन्ने कृष्ण बहादुर भुजेल र हरिराम बुर्लाकोटीलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया