पोखरा, २६ मङ्सिर २०८२।
ललितपुरमा विभिन्न पांच वटा सवारी साधनहरु एकापसमा ठोक्किंदा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाका भाईको मृत्यु भएको छ।
कुपण्डोल पुलबाट यूएन पार्क पुलतर्फ जाँदै गरेको बाप्र०१–०२९ च ३८९६ नम्बरको निजी भ्यानले विपरीत दिशाबाट आइरहेको बाप्र०१–०२२ च ००६१ नम्बरको निजी कार, बा२ज ४७६० नम्बरको भाडाको कार, बाप्र ०१–०२९ च ८१४५ नम्बरको निजी भ्यान र सोही दिशातर्फ गइरहेको बा ५१ प ९५६९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो करिब ३ बजेर ५० मिनेटमा ललितपुरको जावलाखेलस्थित बागमती करिडोर यूएन पार्क सडक खण्डमा ठक्कर दिंदा मन्त्री सिन्हाका भाई राजीव सिन्हाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा गम्भिर घाइते भएका स्कुटर चालक रौतहटको गौर नगरपालिका–९ निवासी सिन्हालाई तत्काल उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएकोमा उपचार हुँदाहुँदै मृत्यु भएको ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलले जानकारी दिएको छ। उनी कानुन व्यावसायी थिए ।
दुर्घटनामा संलग्न पाँच वटै सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले बाप्र०१–०२९ च ३८९६ नम्बरको निजी भ्यानका चालक काठमाडौँ नागार्जुन नपा ६ बस्ने २० वर्षीय रोहित रन्जितकारलाई नियन्त्रणमा लिएको छ ।
अन्य सवारीका चालकहरू दोलखा शैलुंङ गापा ५ बस्ने ३५ वर्षीय अरुन कार्की (निजी कार बाप्र०१–०२२ च ००६१), रामेछाप मन्थली नपा १२ बस्ने २७ वर्षीय सुन्दर सार्की (भाडाको कार बा२ज ४७६०) र उदयपुर रतुवामाई गापा १ बस्ने २३ वर्षीय विष्णु बहादुर तामाङ (निजी भ्यान बाप्र ०१–०२९ च ८१४५) रहेका छन् ।
दुर्घटनामा संलग्न पाँचवटै सवारी साधन र भ्यान चालक प्रहरी परिसर जावलाखेलको नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।