पोखरा, २२ मङ्सिर २०८२।
अबैध लागू औषध चरेस र गाँजासहित पर्बतबाट दुई जना समातिएका छन्।
पर्वतको जलजला गाउपालिका वडा नं. ३ पानीट्याङ्कीस्थित मल्लाज हुँदै म्याग्दी बेनी, नागी जाने सडक खण्डबाट अबैध लागू औषध चरेस र गाँजासहित दुई जना समातिएका हुन्।
पक्राउ पर्नेमा म्याग्दीको अन्नपुर्ण गाउपालिकाको वडा नं. ८ सानोगाउँ बस्ने बर्ष ४२ को युवराज गर्बुजा र सोही ठाउँको बर्ष ४६ को देउ बहादुर पुर्जा रहेको जिल्ला प्रहरी कार्यालय पर्बतले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी वारीबेनी, पर्वतबाट खटिएको प्रहरी टोलीले ग३च ५१४९ नं. को Yodha कम्पनीको पिकअप गाडी शनिबार बिहान नौ बजेको समयमा चेकजांच गर्ने क्रममा पिकअपको पछाडी ढालाको भागमा बोराभित्र लुकाई राखेको अबस्थामा लागुऔषध गाँजा तथा चरेश र शंकास्पद अबस्थाको काटी टुक्रा तथा लहरा बनाई बोरामा नै लुकाई राखेको एकसय ६ किलो आलो मासु फेला परेको थियो।
सोही क्रममा सोही गाडीबाट लागुऔषध गाँजा ११ किलो सातसय ४५ ग्राम, लागुऔषध चरेश दुईसय ६० ग्राम तौल मेसिन एक थान समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
गाडीबाट बरामद भएको गाँजा, चरेश र आलो मासू सहित पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीले जिल्ला अदालत पर्बताबाट लागुऔषध गाँजा / चरेश शिर्षकमा १० दिनको दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।