‘अबको निकास आर्थिक विकास’ भन्ने मूल नाराका साथ मंगलबार सकिएको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीलाई शुरुमै एक करोड भन्दा बढी उधारोको तनावमा परेको छ । तीन दिने राष्ट्रिय भेलामा सहभागी भएका सदस्यहरुले एक करोड भन्दा बढी रुपैयाँ पार्टीमा उधारो राखेपछि नयाँशक्तिलाई उधारोको झड्का लागेको हो ।
भेला समापनमा लेखा शाखाका तर्फबाट सविना अर्यालले सदस्यता शुल्क बापत एक करोड २० लाख २७ हजार तीन सय रुपैयाँ प्राप्त हुनुपर्नेमा एक करोड तीन लाख २२ हजार एक सय ३५ रुपैयाँ भेला सकिँदासम्म पनि प्राप्त हुन नसकेको आयव्यय विवरण पेश गरेकी हुन्। ‘सदस्यता शुल्क वापतको रकम लक्ष्य अनुसार प्राप्त हुँदा हाम्रो बैंक खातामा ५० लाख बचत हुन्छ भने त्यो रकम प्राप्त नभएमा हामीलाई ५० लाख रुपैयाँ ऋण लाग्नेछ’, अर्यालले भनिन् ।
प्रवेश शुल्क वापत सात लाख ५० हजार रुपैयाँ,सचिवालय सदस्यहरुबाट सहयोग ६ लाख ६० हजार रुपैयाँ, परिषद सदस्यबाट सहयोग दुई लाख प्राप्त भएको छ । सो पार्टीले चन्दा नउठाने घोषणा गरेको भएपनि आय व्यय विवरणमा २५ लाख रुपैयाँ चन्दा सहयोग प्राप्त भएको उल्लेख छ । ‘यो रकम नयाँ शक्ति नेपालका शुभचिन्तकहरुबाट प्राप्त भएको हो’ अर्यालले भनिन ।
प्रचारप्रसारमा ३६ लाख ६८ हजार रुपैयाँ, मञ्च निर्माण गर्न २० लाख १३ हजार रुपैयाँ, खानामा सात लाख २४ हजार पाँच सय रुपैयाँ,अतिथि बसोबास खर्च १५ लाख १० हजार पाँच सय रुपैयाँ, रंगशाला र प्रज्ञा भवनको हल भाडा एक लाख ७० हजार, जनपरिचालनमा ११ लाख आठ हजार ६ सय रुपैयाँ र बिबिधमा १२ लाख ६ हजार चार सय आठ गरी जम्मा एक करोड चार लाख एक हजार ८० रुपैया खर्च भएको छ ।
त्यसमध्ये ५० लाख ८७ हजार एक सय ७२ रुपैयाँ तिरिएको छ भने ५३ लाख १३ हजार नौ सय आठ रुपैयाँ तिर्न बाँकी छ । ‘सदस्यता शुल्क वापतको रकम लक्ष्य अनुसार प्राप्त हुँदा हाम्रो बैंक खातामा ५० लाख बचत हुन्छ भने त्यो रकम प्राप्त नभएमा हामीलाई ५० लाख रुपैयाँ ऋण लाग्नेछ’ अर्यालले भनिन् ।
अर्यालका अनुसार एक करोड ६१ लाख ८७ हजार रुपैयाँ आम्दानी देखिएको छ भने एक करोड ४० लाख रुपैया खर्च देखिएको छ । सो पार्टीले केन्द्रमा चल्ती र बचत दुईवटा खाता सञ्चालन गरेको छ । ‘मैले हाम्रा दुवै बैंक खाता नेताहरुलाई एसएमएस गरी पठाएकी छु, ‘प्राप्त हुन बाँकी रहेको रकम प्राप्त हुने आशा गरेका छौँ’ उनले भनिन् ।