नेपालको इतिहासमा पहिलोपटक हुन लागेको स्थानीय तहको चुनावका लागि मतदान शुरु शुनै लाग्दा चुनाव खारेजीको अभियान चलाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मतदातालाई प्रभाव पार्न विभिन्न गतिविधिहरु सञ्चालन गरेको खबर प्राप्त भएको छ । मतदाता मतदानस्थलसम्म नपुगुन् भन्नाका लागि कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बम विष्फोट लगायतका गतिविधिहरुलाई तीब्रता दिएका छन् ।
यसैक्रममा कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आज बिहानै करीब पाँच बजेको समयमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ स्थित शान्ति मावि मतदान केन्द्र जाने बाटोमा सकेट बम विष्फोट गराएका छन् । बम विष्फोटस्थल एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार जीपनप्रसाद आचार्यको घर नजिकै रहेको बताइएको छ ।
त्यस्तै मतदानकेन्द्र लक्ष्यित गरेर गएराती करीब नौबजेकोसमयमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ बेगनासस्थित आनन्दज्योति मावि मतदान केन्द्रमा बम विष्फोट गराइएको छ । बम विष्फोटबाट पुगेको क्षति बारे पूर्ण विवरण आएको छैन ।
यसअघि आफ्ना गिरफ्तार कार्यकर्ताको रिहाई र चुनाव खारेजीको माग राखेर नेपाल कम्युनिष्ट पार्टीले शनिबार आयोजना गरेको नेपाल बन्दका क्रममा पोखराबाट तीन जना कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा टीकाराम घिमिरे, पूर्णबहादुर रावत र टाँसी लामा रहेका छन् ।