पोखरा १५ मङ्सिर २०८२।
गोरखामा एउटा मृत र अर्को अर्धबेहोश अवस्थामा चितुवा भेटिएको छ । बारपाक सुलिकोट गाँउपालिका–८ आइतबारेस्थित ढिकीडाँडा सामुदायिक वन क्षेत्रमा शुक्रबार मरेको र अर्धबेहोश अबस्थामा भाले चितुवा फेला परेको डिभिजनल वन कार्यालय गोरखाले जनाएको छ ।
सामुदायिक वनको छेउमा मृत चितुवासँगै अर्धबेहोश अवस्थामा अर्को भाले चितुवा फेला परेको डिभिजनल वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए । दुवै चितुवाको उमेर करिब ४–५ महिनाको हुनसक्ने अनुमान गरिएको उनले बताए ।
‘एउटा चितुवा भीरबाट लडेर मरेको हुनसक्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘अर्को अर्धबेहोश अबस्थामा भेटिएको चितुवालाई कसैले कसैले विष खुवाएर लठ्ठएको हुनसक्छ ।’ स्थानीयले चितुवा मृत अवस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।
मृत चितुवालाई पोस्टमार्टमका लागि डिभिजन वन कार्यालय गोरखामा ल्याइएको र जिउँदो चितुवाको उपचार सुरु गरिएको डिएफओ शाण्डिल्यको भनाइ छ । ‘यिनीहरुको आमाको अवस्थाबारे पनि खोज अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।
मृत चितुवाको लम्बाई ४७ इन्च, उचाइ १७ इन्च र जिउँदो चितुवाको लम्बाई ४१ इन्च, उचाइ १८ इन्च रहेका बताइएको छ । source : www.daraundi.com