दुर्गा प्रसाईंको महाअभियानबाट छ जना निष्काशित

दुर्गा प्रसाईंको महाअभियानबाट छ जना निष्काशित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८२
  • 2.6K
    Shares

पोखरा १२ मङ्सिर २०८२।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान भित्रै चन्दा असुली, गुटबन्दी र पीडितमाथि दुरुपयोग भएको आरोपमा ४ जना सदस्यमाथि कडा अनुशासनात्मक कारबाही भएको छ। संगठनले उनीहरूलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउँदै निष्कासन तथा निलम्बन गरेको सार्वजनिक गरेको छ।

कारबाहीमा परेकामध्ये सचिवालय सदस्य तथा युवा–खेलकुद विभाग संयोजक विष्णुजङ्ग बस्नेत, केन्द्रीय सदस्य तथा पीडीएफ सह–संयोजक गोपाल बोहोरा प्रमुख छन्। उनीहरूलाई संगठनबाट नै निष्काशन गरिएको हो।

त्यस्तै, सचिवालय सदस्य ओमप्रकाश लुइँटेल र केन्द्रीय सदस्य तथा मेची सहसंयोजक प्रकाश उप्रेतीलाई सबै जिम्मेवारीबाट हटाउँदै निलम्बन गरिएको छ।

महाअभियानले सार्वजनिक गरेको विज्ञप्तिमा कारबाहीमा परेकाहरूले विभिन्न पीडितबाट आर्थिक असुली गरेको, कागजपत्र जफत गरी ब्ल्याकमेल गरेको, संगठनमा गुट बनाएर अराजकता फैलाएको र आर्थिक मोलमोलाइको खेल गरेको ठोस प्रमाण भेटिएको उल्लेख छ। संगठनको चेनअफ कमान्ड उल्लङ्घन गर्दै बारम्बार अनुशासनहीन गतिविधि दोहोर्‍याइएकाले कडा कदम चाल्नुपरेको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ,
“कारबाही गरिएकाहरूसँग महाअभियानका अभियान्ताहरूले कुनै पनि प्रकारको संगत वा गतिविधि नगर्न। पीडितहरू उनीहरूसँग फसे महाअभियान जिम्मेवार हुने छैन।”

सचिव प्रेमदीप लिम्बू र विभाग प्रमुख प्रेम थापा मगरको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा आगामी दिनमा संगठनलाई आर्थिक पारदर्शितासहित अनुशासित बनाउन थप कडाइ अपनाइने चेतावनी पनि दिइएको छ।

महाअभियान भित्रै आर्थिक अनियमितता, ब्ल्याकमेलिङ र चन्दा असुलीको आरोप सार्वजनिक रूपमा आएका पहिलो केस भएकाले यसले संगठनभित्र ठूलो हलचल मच्चाएको छ।

प्रतिक्रिया