काठमाडौँ, ३० कात्तिक २९८२।
नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीले संचालन गरेको ‘शान्ताको अचार’ उद्योग को सुर्खेतको वीरेन्द्रनगरस्थित शाखामा आगलागी भएको छ। शुक्रबार मात्रै भव्य उद्घाटन भएको यस शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । आगलागीको घटनालाई नेतृ चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् ।
प्रहरीका अनुसार, बिहान करिब ३ बजेतिर नगरपालिकाको दमकल गणेशचोकतिर पानी भर्न जाँदै गर्दा दमकलका चालकले बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरी दमकलसहित घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट आगो पसलसँगै रहेको फेन्सी स्टोरबाट शुरु भई अचार पसलमा फैलिएको देखिन्छ । आगजनीबाट चौधरीको करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यद्यपि, प्रहरीले क्षतिको यकिन विवरण बनाउने काम गरिरहेको छ ।
चौधरीले सामाजिक सञ्जालमार्फत तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरीसँग माग गरेकी छिन् । उनले लेखेकी छिन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु ।’
विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।