दोलखा, वैशाख २८ / नेकपा एमालेका एकजना कार्यकर्ताको ज्यान जाने गरी दोलखामा भएको घटनाको अनुसन्धान गर्न प्रहरीले छुट्टा-छुट्टै विशेष टोली परिचालन गरेको छ। प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्ने बताएका छन्।
निर्वाचन आयोगले आयोजना गरेको छलफलमा दोलखा लगायतका जिल्लामा भएका घटनाबारे विपक्षी नेताले प्रश्न उठाएका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, “केही ठाउँमा भएका घटनाबारे जानकारी भयो। सरकारको तर्फबाट मैले सबै घटनालाई गम्भीर रुपमा लिन, अनुसन्धान गर्न र आवश्यक कारवाही गर्न भनेको छु।”
घटनाको अनुसन्धान गर्न प्रहरीले जिल्ला बाहेक अन्य तीन निकायबाट पनि टोली खटाएको छ।जनकपुर अञ्चलका प्रहरी प्रमुख एसएसपी सुवास चौधरी, केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत र प्रहरी प्रधान कार्यालयको कार्यदलका एसपी सुदीप गिरीको नेतृत्वमा विशेष टोली पठाइएको प्रहरीले जनाएको छ।
दोलखामा एमाले कार्यकर्ता कुलबहादुर तामाङ हत्या प्रकरणमा माओवादी केन्द्रकी नेतृ एवं पूर्वराज्यमन्त्री देवी खड्कालगायत ४९ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको अधिकारीहरुले बताएका छन्।