काठमाडौँ, १९ असोज २०८२।
गएराती इलाममा परेको अविरल वर्षासंगै आएको बाढी पहिरोले एकैघरका पांच जनासहित करीब १२ जना बेपत्ता भएका छन् भने
राति निरन्तर वर्षासँगै माथिबाट आएको भीषण पहिरोले माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीको घर पुर्दा उनको घरका पाँच जना सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् ।
त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन् । स्थानीयका अनुसार ती दुवै जना घरभित्रै भएको समयमा पहिरो बगाएर लैजाँदा खोजी कार्य भइरहेको छ ।
यस्तै, देउमाई नगरपालिका–५ धुसेनीका पाँच जना पहिरोमा परेर ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ ।
उद्धारका लागि स्थानीय बासिन्दा, प्रहरी र सशस्त्र सुरक्षा निकायका टोली परिचालित भए पनि लगातारको वर्षाले खोजीमा कठिनाइ भइरहेको छ ।
अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा इलाम–भद्रपुर र इलाम–फिदिम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडक अवरुद्धसँगै इलामका पहाडी बस्तीहरू सम्पर्कविहीन बनेका छन् ।
अविरल वर्षाका कारण इलामको देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिका बिचमा पर्ने देउमाई खोलाको पुल आज राति आएको बाढीले बगाएको छ । आसपासमा रहेका केही घरहरू समेत बाढीले बगाएको स्थानीय सुरेन्द्र लिम्बुले जानकारी दिए ।
स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिने तयारी अघि बढाएको जनाएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , मेची करिडोर अन्तर्गत तीन स्थानका पुल बाढीले बगाएको छ । केचना–कञ्चनजंघा सडकखण्डमा पर्ने माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका हुन् ।
इलाम नगरपालिका–११ स्थित बेलासेमा माईखोला माथि निर्माण गरिएको पक्की पुल करिब पाँच वर्षअघि मात्रै बनेको थियो । बाढीले सो पुल क्षतिग्रस्त बनाएपछि सो क्षेत्रबाट सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
यसबाहेक, मेची राजमार्ग पनि पहिरोका कारण अवरुद्ध बनेको छ । इलाम र पाँचथर जिल्लामा पर्ने मेची राजमार्गका ३० भन्दा बढी स्थानमा सानो–ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको हो ।