पोखरा, ११ साउन २०८२।
लामो समयदेखि अबैध रुपमा बिदेशी मुद्राको कारोबार गर्दै आएका तीन जना हुण्डी ब्यापारी पोखरामा पक्राउ परेका छन्।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३, हाटबजारका महमुदिन एम अहमद, झापाको दमक नगरपालिका ४ घर भई हाल पोखरा ६, बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा १९, पुरनचौरका खेमराज पौडेल अबैध रुपमा बिदेशी मुद्राको कारोबार गरेको आरोपमा पोखराबाट पक्राउ परेका हुन्।
उनीहरुको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, चारहजार युरो र ४४ लाख आठ हजार नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको एसपी ओलियाले दाबी गरे।
उनीहरु तीनै जनाविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने ओलियाले बताए ।