पोखरा, ३१ असार २०८२।
तीन थान पस्तोल र जरायोको सिंहसहित तीन जना कैलालीबाट पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-९ आमबाडीबाट हातहतियार, गोलीगठ्ठा र जंगली जनावरका अंगसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–९ आमबाडी बस्ने ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय बिकास कार्की र भजनी नगरपालिका–५ बस्ने ३० वर्षीय सुरेश बिक रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले दिलिप कार्कीको घरमा खानतलासि गर्दा हातहतियारसहित सोमवार पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनीहरुको साथबाट एनएफ बबी लेखिएको पेस्तोल १ थान, सोही पेस्तोलको गोलि ११ राउण्ड, म्यागजिन १ थान, नबिकरण नभएको २२ बोर (हर्नेट) १ थान, सोही हर्नेटको गोली २४ राउण्ड, कटुवा पेस्तोल १ थान, भरुवा बन्दुकको काठ १ थान, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा १ थान, मयुरको प्वाख २ गुच्चा र जरायोको सिंह ३ थान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।