पोखरा, ३० असार २०८२।
तनहुँमा आज रोकिराखेको मिनी ट्रकमा स्कुटर ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर स्कुटर चालक व्यास नगरपालिका–१२ छिर्कने बस्ने अन्दाजी २५÷३० वर्षीय सागर न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँका ६० वर्षीय कृष्णमाया पन्त घाइते भएकी छिन्।
दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरी अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताए । घाइते पन्तलाई थप उपचारका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रिय असपताल पोखरामा पोखरा पठाइएको प्रहरीले जनाएको छ ।